आधुनिक पुस्ता आफ्नो भविष्यप्रति अत्यन्त संवेदनशील मात्र होइन चिन्तित पनि हुन्छ्न् । सन् १९९० दशकका महान समाजशास्त्री जिग्मेण्ट बौउमेनको लिक्यूड मोडर्टिनिटी सिद्धान्त अनुसार आफ्नो भविष्यप्रति अत्यन्तै संवेदनशील र चिन्तित छ यो पुस्ता । २०४८ सालदेखि निरन्तर संसदमा देखिई सिन्को समेत नभाँचेको नेतृत्वलाई नयाँ पुस्ताले स्विकार्न सक्ला र ? आजका युवा भविष्यको उज्यालो देखाउन सक्ने शक्ति र नेतृत्वप्रति आकर्षित हुने गर्दछ्न् ।
उपनिर्वाचनको नतिजाले आम मतदाताले युवा र भूगोल बुझेको साथै जनताको सुख, दुःखमा सँगै रहने उम्मेदवार रूचाउँछन् भन्ने भाष्यलाई गलत सावित गरिदिएको छ । साथै, यो निर्वाचनले अबको राजनीति विरासत, आन्दोलन, परिवर्तनको संवाहक जस्ता कुनै पनि कुराले छुँदैन र चल्दैन भन्ने प्रस्ट सन्देश दिएको छ ।
नेपालका पुराना दल नेपाली कांग्रेस र नेकपा एमाले, २०४६ सालपछि उदय भएको नेकपा माओवादी केन्द्र, २०६२/०६३ को आन्दोलन पश्चात् उदय भएको जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका साथै २०७९ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनभन्दा केही समय अगाडि मात्रै उदाएका जनमत, रास्वपा र नागरिक उम्मुक्ति पार्टीले समेत लोकतन्त्रलाई आफ्नो मूलमन्त्र बनाएकोले आम मतदाताले यी दलहरूबीचको सैद्धान्तिक फरक नै छुट्टाउन सकेनन् ।
साथै, २०७४ सालमा गरिएको वाम गठबन्धन र २०७९ को स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा गरिएको पाँच दलीय र अन्य गठबन्धनले नागरिकमा भोट जहाँ दिंदा पनि उस्तै हुने रहेछ भन्ने मनोवृति विकास भएको पाइन्छ । यसको असर दलहरूमा रहेको परम्परागत मत समेत सजिलै अन्य दल र चुनाव चिन्हमा स्थानान्तरण भएको पाइयो । फलतः न त कांग्रेसले पुस्तौंदेखिको आफ्नो मत र आदर्श संरक्षण गर्न सक्यो न त सत्ता र शक्ति प्रचण्डको किस्तिमा पुगेको पत्तो नै पायो ।
कांग्रेसले के भुल्नु हुँदैन भने हिजोको दिनमा कांग्रेसको विकल्प अन्य दल थिएनन् तर आज रास्वपाको उदयले कांग्रेसलाई चुनौती थपेको छ । यो कुरा पौडेल राष्ट्रपति भएपछि तनहुँ–१ मा कांग्रेसले त्यहीँ जन्मिएर नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा क्रियाशील रहेका नेता गोविन्द भट्टराईको पराजयले प्रस्ट संकेत गर्दछ ।
अतः यो उपनिर्वाचनले एकातर्फ कांग्रेस पूर्ण रूपमा परिष्कृत हुनुपर्ने सन्देश दिएको छ भने अर्कोतर्फ बदलिंदो राजनैतिक परिदृश्यलाई लक्षित गर्दै उसले नतिजाको गहन समीक्षा गर्दै भावी कार्यदिशा समेत तय गर्न घच्घचाएको छ । हुन त कांग्रेसले मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको नतिजा समेत समीक्षा गरेको छैन ।
कांग्रेसले १३ औं महाधिवेशनसम्म नेतृत्व र नीतिको लागि एउटै महाधिवेशन गरेकोमा १४ औं महाधिवेशनमा नेतृत्व र नीति महाधिवेशन फरक–फरक गर्ने नीति लियो । १४ औं महाधिवेशनमा नीति तथा कार्यक्रम, सांगठनिक र राजनीतिक प्रतिवेदनमा बहस भएन र नेतृत्व चयनमा मात्रै सीमित रह्यो ।
१४ औं महाधिवेशन कै क्रममा शीर्ष नेताहरूले ६ महिनापछि नीति महाधिवेशन गर्ने अभिव्यक्ति दिएता पनि आजसम्म त्यसको कुनै सुरसार छैन । अतः नेपाली कांग्रेसले नीति महाधिवेशन कै तयारीको लागि भने पनि सात महिनादेखि सम्पन्न हुन नसकेको केन्द्रीय कार्य समितिको बैठक तुरुन्तै बोलाउन जरूरी छ । यसको साथै रिक्त रहेका केन्द्रीय समितिमा सदस्य मनोनित गर्न, विभागहरूको पूर्णता दिएर पार्टीलाई चलायमान गराउन सभापतिले अब ढिला गर्नु हुँदैन ।
कांग्रेस १४औं महाधिवेशनको परिणामलाई हेर्दा ‘पुस्तान्तरणसहितको वैचारिक रुपान्तरण’ को मुद्दा वडा इकाइबाट केन्द्रीय नेतृत्चसम्म स्थापित भएको छ । यही कुरालाई मनन गर्दै पार्टी सभापतिले हाम्राभन्दा नि राम्रालाई प्रशय दिनु सक्दा मात्र संगठनले गति लिनेछ । यसका लागि सही ठाउँमा सही मान्छेलाई जिम्मेवारी गर्दा नै वहाँको कद उचो हुने देखिन्छ । यसको साथै नेपाली कांग्रेसको विधानको धारा २५ मा उल्लेख भए बमोजिम सभापतिलाई दिईएको अधिकारलाई अबिलम्ब गरिनु पर्दछ ।
हिजोको दिनसम्म जेल बसेको, यातना भोगेको, आन्दोलनको नेतृत्व गरेको, विद्रोह उठाएको कुराले नेताको वाञ्छनीय योग्यता मानिन्थ्यो । साथै हामीले क्रान्ति गर्यौं, राणाशासन ढलायौं, प्रजातन्त्र ल्यायौं, गणतन्त्र स्थापित गर्यौं भन्ने दलहरूको दाबा हुन्थ्यो । अब यी सबै कुरा गौण हुन लागेका छन् । यसलाई नेपाली कांग्रेसले गम्भीर रूपमा मनन गर्न आवश्यक छ ।
आजको दिनमा यी आन्दोलनमध्ये धेरै अथवा कुनै पनि आन्दोलनलाई नदेखेको, नभोगेको, नसुनेको र नजानेको पुस्ताको मतदाता संख्या अधिक भइसक्यो । यही यथार्थताको आधारमा पार्टीहरूले रणनीति तय गर्न जरूरी छ । २०६२/०६३ सालको आन्दोलन पछाडि जन्मेको बच्चाको समेत मताधिकार २०८४ मा सुनिश्चित हुने भएकोले आजको युवाले खोजेको समाजको पथ-प्रदर्शन कांग्रेसले गर्न सकेन भने २०८४ को आम निर्वाचनमा नेपाली कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्नेछ ।
उपनिर्वाचनको नतिजालाई लिएर कांग्रेस पार्टी सभापतिले अब नेपाली कांग्रेस रूपान्तरण हुन जरूरी छ भनेर उदघोष गरिसकेका छन् । यही कुरा उनले एक वर्ष अगाडि सोचेको भए आजको स्थिति आउने नै थिएन । सभापतिको रूपमा दोस्रो कार्यकालको पदभार सम्हालेका पार्टी सभापति शेरबहादुर देउवाको सामु थुप्रै अवसर र चुनौतीहरू थुप्रिएका छन् । लोकतन्त्रको हिमायति पार्टीको पार्टी सभापति र संसदीय दलका समेत नेता रहेका देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउदै स्वयं आफू ४६ वर्षमा गृहमन्त्री र ५० वर्षमा प्रधानमन्त्री भएको कुरालाई स्मरण गर्दै नवनिर्वाचित पदाधिकारीलाई सरकार संचालनको राजकाज सिकाउनु उनको दायित्व र कर्तव्य हो ।
तसर्थ अब पार्टी सभापतिको ध्यान सत्ता परिवर्तन भन्दा पनि संगठन विस्तार र पार्टीको सिद्धान्त, नीति र आदर्श स्थापित गर्नको लागि यथाशीघ्र नीति महाधिवेशन गर्नमा केन्द्रीत हुनु आवश्यक छ । साथै, विधानतः प्राप्त अधिकारको पूर्ण कार्यन्ययन गरी सम्पूर्ण भातृ संघ तथा शुभेच्छुक संस्थालाई पुनर्जीवन दिन ढिला गर्नु हुँदैन । यदि भातृ संघ तथा शुभेच्छुक संस्थालाई समयमा नै पूर्णता दिएको भए पछिल्ला सबै निर्वाचनमा उनीहरू पार्टीको पक्षमा ढाल बनेर उभिन्थे र नतिजा फरक हुन्थ्यो ।
अब पनि नेपाली कांग्रेसले नेविसंघ, तरूण दल, महिलासं घलाई तदर्थवादका रूपमा नै चलाउने हो भने अर्को दशकमा वीपीको आदर्श बोकेको कार्यकर्ता टर्च लाइट बालेर नै सिला खोजे झै खोज्नुपर्ने हुन्छ । त्यसैले युवा महामन्त्रीद्वले विधानले दिएको अधिकारलाई मनन गर्दै यथाशीघ्र कांग्रेसलाई चलायमान र सरकारलाई खबरदारी गर्नका लागि भातृसंघ तथा शुभेच्छुक संस्थालाई तुरुन्त पूर्णता दिनुपर्छ । अन्यथा, न त उनीहरूले प्रजातान्त्रिक शक्तिलाई कांग्रेसतर्फ आकर्षित गर्न सक्दछन् न त आफूलाई परिवर्तनको संवाहकको रूपमा स्थापित गर्न नै ।
२१ औं शताब्दीले विकास गरेको सूचना प्रविधि र यसले जबरजस्त ल्याएको परिवर्तनले आजका नागरिक हरेक कुराको परिवर्तन स्वयं नेताबाट होस् भन्ने चाहना राख्दछन् । तसर्थ कांग्रेसले आफ्नो संगठनलाई बलियो र मजबुद बनाउँदै युवालाई कांग्रेस नै परिवर्तनको संवाहक हो भन्ने कुराको प्रत्याभूति दिलाउने गरी काम गर्नुप५ । यसका लागि आवश्यक रणनीति तय गर्दै पार्टीलाई आमूल रूपान्तरण गर्न जरूरी छ । कांग्रेसले नीति महाधिवेशन मार्फत् आफूलाई समयसापेक्ष परिवर्तन नगर्ने हो भने यही पुस्ता सँगसँगै कांग्रेसपनि सकिने कुरामा कुनै द्विविधा छैन ।
छिमेक र अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्ध र सम्झौतालाई समेत मध्येनजर गरी आर्थिक संकटको बेलामा वैदेशिक लगानी भित्र्याउने गरी पार्टीले कार्यादेश तयार गर्न आवश्यक छ । वीपीले भनेका थिए, ‘म कुनै आर्थिक विशेषज्ञ होइन, तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विकास विकास नै होइन ।’ वीपीको यो आदर्श वाणीलाई मनन गर्दै देश विकासको समग्र खाका कोर्न कांग्रेसले अब ढिला गर्नु हुँदैन ।
इतिहासको विभिन्न कालखण्डमा राजनैतिक नेतृत्व गरेको र राजनैतिक परिवर्तनको संवाहकको रूपमा समेत रहेको कांग्रेसलाई आम नागरिकको जीवनशैलीसँग जोड्ने गरी कार्यक्रम र योजना ल्याउन सकिएन । फलतः कांग्रेसको उद्गम थलोको रूपमा रहेको तनहुँ र चितवनमा समेत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारद्वयले पराजय भोग्नु पर्यो । यो तितो यथार्थलाई भुल्दा भोलिको दिनमा कांग्रेसले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।
राजनीति सत्तामुखी होइन, परिवर्तनमुखी बन्नुपर्छ भन्ने सत्य र यथार्थ दलहरूले बिर्संदा परम्परागत रूपमा रहेको आफ्नै मत नागरिकले अन्यत्र दिएर सचेत गराएका छन् । कांग्रेस जस्तो स्थापित दलको विचारशून्य र दिशाशून्य नेतृत्वले इतिहासको ब्याज मात्र माग्दा अब ब्याज होइन बीउ पुँजी नै समाप्त हुने खतरा बढेको छ । तसर्थ सामाजिक यथार्थता र बदलिंदो विश्व परिवेशलाई समेत मध्यनजर गर्दै नेपाली कांग्रेसले विज्ञ, दक्ष र समाज बुझेको व्यक्तिलाई उपयुक्त राजनैतिक जिम्मेवारी दिँदै युवापुस्तालाई कांग्रेसतिर आकर्षण गर्ने रणनीति तय गर्न विलम्ब गर्नु हुँदैन ।
(लेखक नेपाली कांग्रेसका नेता हुन् ।) अनलाइन खवरबाट साभार