नेपाली समाजमा चरम निराशा छाएको छ । मंसिर २०७९ मा सम्पन्न आमनिर्वाचनले देशलाई निकास दिन सकेन । सरकार बनाउने जोडघटाउले झन राजनीतिक अस्थिरता बढाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको छ । जनमत गुमाएका पुराना ठूला दलहरूको लागि यो सुखद विषय थिएन । उनीहरूको राजनीतिक भविष्यको लागि खतराको घण्टी थियो । यता अप्रत्याशित सफलता हात लागेपछि कसरी अगाडि बढनेमा रास्वपा अलमलमा पर्यो । अन्ततः नाली सफा गर्न नालीमा पस्ने तर्कसहित सरकारमा गएको रास्वपा नाटकीय रूपमा बाहिरियो ।
राजनीति फोहोरी मात्र होइन, क्रूर खेल पनि हो । कसैले कसैलाई दयामाया गरेर सत्तामा भागिदारी दिंदैन । सत्तामा झिनाझपटी भगवान रामको पालादेखि नै हो । अर्थात्, प्राचीनकालमा राज्यसत्ताको उत्पत्तिदेखि नै क्रूर खेल जारी छ । वैशाख १० को उपनिर्वाचनमा विजय पश्चात रास्वपाको हैसियत बढेको छ । रास्वपाले आगामी दिनमा नेपाली राजनीतिमा पकड जमाउने प्रष्ट संकेत देखिएको छ । प्रधानमन्त्रीबाट आकर्षक मन्त्रालयहरू सहित सरकारमा सहभागिताको अफर आइसकेको छ । यसले गर्दा रास्वपा फेरि त्यही अलमलमा परेको थियो, तर अन्तिममा रास्वपाले सरकारमा नजाने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
वैकल्पिक राजनीतिक शक्तिको खोजी
बहुदलीय व्यवस्था स्थापनाको दुई दशक बित्दा पनि काँग्रेस कम्युनिस्टहरूबाट नेपाली जनताको विकास र समृद्धिको अपेक्षा पूरा नभएपछि वैकल्पिक राजनीतिक शक्तिको खोजी हुन थालेको हो । पुराना ठूला दलहरूमा नेतृत्व हस्तान्तरण हुन सकेन । दल भित्रका युवाहरूले पर्याप्त हस्तक्षेप वा विद्रोह गर्न सकेनन् । त्यसले वैकल्पिक राजनीतिक शक्तिको उदयलाई वातावरण बन्यो । रवि लामिछानेको टेलिभिजन प्रस्तोताको रूपमा लोकप्रिय छविले रास्वपालाई वैकल्पिक शक्तिको रूपमा उदाउन सफलता मिल्यो ।
‘ओल्ड ईज गोल्ड’ उखान राजनीतिमा लागू हुँदैन । बरु ‘न्यू ईज भ्यू’ भने जस्तै, नयाँले आकर्षण पैदा गर्न सक्छ । प्रजा परिषद, गोर्खा दल जस्ता नेपालका कुनै बेलाका प्रभावशाली राजनीतिक पार्टीहरू विलुप्त भैसकेका छन् । भारतमा हेर्ने हो भने काँग्रेस आईलाई पाखा लगाउँदै भारतीय जनता पार्टीले पकड जमाएको छ । कुनै बेलाका प्रभुत्वशाली भारतीय कम्युनिस्टहरू पार्टीहरू लोपोन्मुख अवस्थामा छन् । उदाहरण खोज्दै जाँदा अरु थुप्रै उदाहरण भेटिएलान् ।
कुरोको चुरो के हो भने नेपाली राजनीतिमा रास्वपाको उदय अत्यन्त स्वाभाविक छ । शुभचिन्तकहरूको चिन्ता वा प्रश्न चाँहि रवि लामिछाने स्वयं र उनको पार्टी यो प्राप्त हैसियतलाई सम्हाल्न सक्छ कि सक्दैन भन्ने हो ।
जब शक्ति आर्जन हुन्छ, मानिसलाई स्वयंमा दम्भ जागेर आउँछ । उसलाई वरिपरि चापलुस, चाकडीबाज र स्वार्थ समूहहरूले घेर्न थाल्छन् । रवि लामिछाने सरकारमा सहभागी हुँदा, मन्त्री खान जाँदा त्यस्ता स्वार्थी तत्वहरू सत्ताबाट फाइदा उठाउन सक्ने आशामा हुन्छन् । नाली सफा गर्न नालीमा पस्ने तर्कमा कुनियत छ । यो त एकप्रकारले स्वयं फोहोरी बन्न उक्साहट हो । नेपाली राजनीतिको नालीमा जमेको मुख्य फोहोर भनेको भष्ट्राचार र कुशासन हो । जसले देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्न रोकावट गरिराखेको छ । सिद्धान्तहीन गठबन्धनमा उभिएको र एनी हाउ टिकाउनु नै एक मात्र ध्याउन्न भएको कमजोर सरकारमा दुई चार थान मन्त्री पाउँदैमा फुरुङ्ग पर्नु रविको बचकाना हरकत हुनेछ ।
रास्वपाको उदयबाट अलिकति उत्साहित भएका निराश नेपाली जनसमुदाय, खासगरी युवाहरू रास्वपा सरकारमा नजाओस् भन्ने चाहन्छन् । यस विषयमा रास्वपा जस्तो सूचना–प्रविधिमा दख्खल राख्ने पार्टीले मत सर्वेक्षण गरे हुन्छ ।
आमनिर्वाचनबाट चौथो ठूलो दलको रूपमा उदय भैसकेको रास्वपालाई देशभर नेपाली जनसमुदायमा स्थापित र विस्तार गर्दै लानुपर्ने आवश्यकता छ । रास्वपाको अहिले सीमित शहरी क्षेत्रहरूमा प्रभाव देखिएको छ । यसलाई देशव्यापी बनाउने तर्फ रवि र उनको टिम लाग्नु पर्छ ।
रवि, दायाँ—बायाँ नलाग, अगाडि बढ भन्ने आम शुभचिन्तकको सुझावलाई मनन गर्न जरुरी छ । आगामी निर्वाचनबाट काँग्रेस कम्युनिस्टलाई पन्छाएर पहिलो दल बन्ने औपचारिक उदघोष गर्दै रास्वपा अगाडि बढ्नु पर्छ । नेपाली राजनीतिमा चलेको हावाको वेगले रास्वपालाई अगाडि लान खोजिरहेको छ । समय बलवान छ । समयलाई चिनौं ।
मन्त्रीहरूको स्टन्टबाजी र तेजोबध
नेपालमा मन्त्रीहरूले काम गरेको टाइरफाई देखाउन स्टन्टबाजी गर्छन् । ऊर्जा मन्त्री बिजुलीको खम्बा चढछ । खम्बा चढेर काम गर्नु पर्ने कर्मचारी, काम गराउने जिम्मेवार हाकिम तल बसेर ताली ठोक्छन् । त्यसैगरी, कूचो बोकेर सडक बढार्ने, बिरामीलाई फलफूल बाँड्ने आदि इत्यादि मन्त्रीहरूको अनेक स्टन्टहरू नेपाली जनताले देखिसकेका छन् । आजकल मन्त्रीले निर्देशन दिने लहर पनि चलेको छ । मन्त्रीका यस्ता स्टन्टहरूबाट मिडियाकर्मीलाई समाचारको खुराक र आमजनतालाई सित्तैमा मनोरञ्जन बाहेक कुनै उपलब्धि हासिल हुँदैन ।
नाली सफा गर्न नालामा पस्ने बहानामा मन्त्री खाने रवि र उनका साथीहरूले पनि कुनै स्टन्टबाजी गरेर ट्यालेन्ट देखाउन सक्छन् । भ्रष्टाचारको फाइल खोल्ने वचनसहित गृहमन्त्रीको अफर, स्टन्टबाजी देखाउन आऊ भन्ने निम्तो हो । सबै जालझेल र तिकडम गरेर गठबन्धन दलहरूले रविलाई उपचुनावमा रोक्न नसकेपछि, विवादास्पद काममा झोसेर खुल्याउन गृहमन्त्रीको अफर सबैभन्दा राम्रो उपाय हो । रवि र उनका दुईचार सत्तालोलुप साथीहरू खुइलिएर पतन हुनु, उनीहरूको निजी मामला मात्र होइन, गत चुनावमा रास्वपालाई आएको ११ लाख भोट र आगामी चुनावमा आउन सक्ने ३५ लाख भोट खेर जानु हो ।
आफूलाई समाजवादी, कम्युनिस्ट भन्ने राजनीतिक दलहरूले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत मानवीय कुरा निजी क्षेत्रलाई सुम्पिदिए । शिक्षा, स्वास्थ्यमा निजीकरण यसरी हावी भयो कि अहिले माफियाहरूको जगजगी छ । रविको साथीहरू जान्ने त होलान्, तर जान्ने मन्त्री हुँदैमा परिवर्तन भैहाल्ने होइन । स्वास्थ्य मन्त्रीले दुर्गममा एउटा डाक्टर सरुवा गरेर पठाउन सक्दैन । मन्त्रीको ईच्छाको बावजूद कुतत्वहरूले जिल्ला अस्पतालको एक्सरे मेशिन बनाएर सुचारु चलाउन दिंदैनन् । अन्य मन्त्रालयहरूको अवस्था पनि त्यस्तै छ ।
तब, जान्ने मन्त्री भएर मात्र के गर्ने ? बरु माफियाहरूले मन्त्रीलाई आफ्नो स्वार्थ अनुकूल परिवर्तन गराउँछन् वा मन्त्री नै परिवर्तन गरिदिन सक्छन् । स्थिर र बलियो सरकारको मन्त्रीले मात्र माफियाको जालो चिरेर सुस्त कर्मचारीतन्त्रलाई चलायमान बनाउँदै जनतालाई डेलिभरी गर्नसक्छ । अहिले रास्वपा सरकारमा सामेल हुनु भनेको प्रचन्डलाई सत्तामा टिकाई राख्ने, मन्त्रीहरूले स्टन्टबाजी गर्ने र अन्तमा आफैं खुइलिएर तेजोबध हुने मात्र हो ।
आर्थिक मन्दी र आगामी निर्वाचन
नेपालमा आर्थिक मन्दीको शुरुआत भैसकेको सरकारी तथ्याङ्गहरूले देखाइसकेको छ । आर्थिक मन्दीको चपेटामा फसेपछि सत्ताधारीहरूको के हालत हुन्छ ? श्रीलंकाको ताजा उदाहरण छ । नक्कली भुटानी शरणार्थी प्रकरण हाल चालू आर्थिक मन्दीबाट नेपाली जनताको ध्यान अन्यत्र मोड्ने दाउपेच मात्र हुनसक्छ । भ्रष्टाचार छानविन रास्वपा लगायत प्रतिपक्षी दलहरूको मुद्दा हो । त्यसैले भ्रष्टाचार छानबिन प्रकरणको नयाँ नयाँ झाँकीहरू भोलिका दिनहरूमा देख्न पाइने सम्भावना छ ।
जेहोस् आगामी निर्वाचन २०८४ सालमा हुने निश्चित छ । अझ मध्यावधि निर्वाचनको प्रबल सम्भावना छ । रास्वपाले आगामी निर्वाचनलाई लक्ष्य गरेर गतिविधिहरू अगाडि बढाउनु उपयुक्त हुनेछ । २०७९ साउनमा स्वतन्त्रहरूको पार्टी रास्वपा दर्ता हुँदा गैरदलीय उम्मेदवारले जित्ने तीन आधार थिए ।
ती तीन आधारहरू नयाँको खोजीमा रहेका १८ वर्ष देखि ३५ वर्षका मतदाता, रविलाई आफ्नो प्रतिनिधी ठान्ने नेपाली डायस्पोरा र वैकल्पिक शक्तिको खोजीमा रहेका वाक्कदिक्क आम सर्वसाधारण हुन् । गत निर्वाचनहरूमा रविले पाएको भोट र रास्वपाको सफलताले यसलाई पुष्टि गरिसकेको छ । त्यसैले रवि, अलमल नगर, अगाडि बढ ।