गंगा देवी उप्रेती
२५ चैत्र २०७८, शुक्रबार १२:०७
आत्महत्या वा डिप्रेसनका कारण संसारमा धेरै घटनाहरू घटिरहेका हुन्छन् । विभिन्न परिस्थितिमा फरक ढंगलेयस्ता घटनाहरू घटिरहन्छन् । आफूलाई वा आफनो परिवारमा पर्दा यस्ता घटनाहरू अत्यन्त पिडादायक र ह्दयविदारक बन्न पुग्छ । मैले पनि आफनो एकमात्र सन्तानलाई गुमाउनु पर्यो । त्यही अनुभव म आज हजारौं आमाका सन्ततिहरूलाई बाँडन चाहन्छु । म एउटा सामान्य जािगरे सामान्य जीवन बिताउँदै जागिरको उत्तराद्धतिर दौडिरहेकी थिएँ । आफ्नो सन्तानको सुन्दर भविष्य सबै आमा बुवाहरूले कल्पना गरेकै हुन्छन् । म पनि छोराको पढाई अब्वल देखेर उप्रति दङ्ग थिएँ ।
उ नेपालबाट आइएसीको अध्ययन पछि अष्ट्रेलियाको सिडनीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा उच्च शिक्षाको लागि सन् २०१७ को मार्च १९ तारिख त्यता गएको थियो । उ विश्वविद्यालयमा कम्प्युटर साइन्स विषयमा तेस्रो वर्षको विद्यार्थी थियो ।
कानुन शंकायका विदेशी विद्यार्थीसँग मिलेर उसले सन् २०१७ मा ह्याकथोनमा सहभागी भएर दोस्रो पुरस्कार समेत प्राप्त गरेको थियो । यसैगरी उसले सन् २०१८ को अक्टोबरमा विश्वविद्यालयले आयोजना गरेको नासा गुगल एपी प्रतियोगितामा विदेशी विद्यार्थीसँगै भाग लिएर दोस्रो स्थान समेत हासिल गरेको थियो । यसरी हामी छोराको प्रगति र पढाई प्रति उत्साहित थियौं ।
सधैंझैँ त्यस दिन पनि म सुनौलो विहानीको घामसँगै मुस्कुराइरहेकी थिएँ । त्यो दिन २०७६ साल असार २७ गते, ठूली एकादशी परेकाले नुहाई धुवाई सकेर तुलसा रोपेर चिया पिउने तयारीमा थिएँ । अचानक श्रीमानको मोबाइलको घण्टी बज्यो । त्यो आवाज सुन्ने वित्तिकै श्रीमान थुच्चुक्क भूँइमा बस्नु भयो । के भयो भनी म पनि आत्तिएँ । उहाँ बोल्न सक्नु भएन । एकैछिनमा घरमा आफन्त र साथीभाइको भिड लाग्यो । मलाई आफन्तजनले सुनाए अब सकियो, छोरा सकियो । त्यो सुनेपछि ठूलो विजुली चम्कियो र मेरो टाउकोमा आएर बज्रियो, त्यसपछि मैले होस गुमाएँ । केही समय पछि होसमा आएँ । मैले धैर्यताका साथ सोधेँ के भएको मेरो एक मात्र सन्तानलाई ? उत्तरमा पाएँ सुसाइड । मेरो तलको जमीन भासिए जस्तो भयो र एकैचोटि १० रेक्टरको भुँइचालो आएको जस्तो भयो । छिनभरमा हाम्रो एउटा मात्र सन्तानसँगको सपना सिसा जस्तै गरि झरामझुरूम फुट्यो । यसरी नै म मात्र नभएर धेरै आमाहरूको सपना टुटने गरेको छ ।
जब युवाहरू ऊचाइको शिखरमा चड्दै गर्दा अपत्याशित रूपमा चिप्लिएर झर्ने गर्छन् । त्यतिखेर परिवार, समाज र राष्ट्रको पनि सपना टुटन जान्छ । फेरि पनि यो सत्य हो कि हामीले सत्यलाई स्वीकार्ने पर्छ । आज म नितान्त आफनो अनुभव अरूलाई बाँडन गईरहेकी छु । मेरा हातहरू कामी रहेका छन् । आँखाबाट समुद्रका छालहरू उर्लिरहेका छन् । मुटुको धडकन रोकिन खोज्छ । तर पनि मैले भन्ने आँट गरेको छु ।
उ विते पछि थाहा भयो उ गम्भीर मानसिक विरामीवाट उ पीडित भएको रहेछ । उसले विश्वविद्यालयको काउसिलिङ शाखामा गएर परामर्श लिएको र त्यहाँको चिकित्सकले उसलाई गम्भीर मानसिक विरामी भए पछि औषधि दिएको रहेछ । तर विश्वविद्यालयले यस्तो रोगमा विद्यार्थीका अभिभावकलाई जानकारी गराएर परिवारको निगरानीमा औषधि खुवाउनु पर्ने र स्थानीय अभिभावकलाई समेत जानकारी गराउनु पर्दो रहेछ । तर विश्वविद्यालयले यस्तो केही गरेन । जसको परिणाम हामीले आफनो छोरालाई गुमाउनु परयो । यसमा विश्वविद्यालयको ठूलो गल्ती देखिन्छ । तर यस्ता घटना मेरो मात्र होइन अन्य आमाबुवाहरू पनि यस्ता घटनाबाट पीडित रहेका छन् ।
डिप्रेसनको बारेमा धेरै अनुसन्धान भएका छन् । नेपालमा पनि यसको बारेमा धेरै अध्ययन गर्ने संस्था र विज्ञहरू हुनुहुन्छ । तर यस रोगको शिकार हुनमा बारेमा परिवार समाज र राष्ट्रको पनि दोष देखिन्छ । हामीले कलिला छोराछोरीहरूलाई परिपक्क नभई विदेश पठाउन हुँदाे रहेनछ । हामीलाई यहाँ भएका कन्सलटेन्सीहरूले केही कुरा मात्र साँचो भनेका हुँदो रहेछन । त्यहाँ गएर उसले के कति संघर्ष गर्नु पर्छ, त्यहाँ काम पाइन्छ कि पाइदैन । कत्तिको गारो हुन्छ । त्यो बारे यथार्थ जानकारी नहुँदा विद्यार्थीहरू अनाहकमा तनाबमा पर्दा रहेछन् । उ हामीलाई भन्ने गर्दथ्यो ‘आमा यहाँ चाइनिज ,कोरियन विद्यार्थी धेरै छन् । उनीहरू यति धनी छन कि सरकारलेनै उनीहरूलाई सहुलियत ऋण आफ्नो देशको सरकारल नै पैसाको सहयोग गर्दौ रहेछ । हामी नेपालीहरू त्यँहा पाँच प्रतिशतले मात्रै राम्ररी पढदा रहेछन् । बाँकी प्राय जसो सस्तो कलेजमा पढेर पीआरको लागि योग्य हुन चाहादा रहेछन् ।’ स्वदेश आफू तीन घण्टा मात्र सुत्ने गरेको कुरा हामीलाई भन्ने गर्दथ्यो । उ कहिलेकाँही विश्वविद्यालयको पुस्तकालयमा रात भरि अध्ययन गरि बिहान त्यतैबाट काममा जाने कुरा आफुहरूलाई बताउने गर्दथ्यो । हामी सामान्य परिवारको लागि त नेपालकै पढाई राम्रो हुने रहेछ ।
उ लामो समय परिवारबाट टाढा भएकाले उसको भित्री पीडा पनि हामीले बुझन सकेनौ । उ बेला बेलामा हामीसँग फोन सम्पर्कमा रूने पनि गर्दथ्यो । अर्को कुरा उ फोनमा बोल्दा आफनो भनाई समयसमयमा फेरी रहन्थ्यो । यो डिप्रोसन अर्को एउटा लक्षण रहेको रैछ । अनि साथी भाइले पनि उसको समस्या नबुझने र परिवारलाई नबताउने, कोठामा बस्नेले पनि सहयोग नगर्ने । विश्वविद्यालयले पनि विदेशी विद्यार्थीबाट पैसा मात्र लिने र उनीहरूको स्वास्थ्य प्रति ध्यान नदिने, काउन्सिलिङ । गर्दा पनि राम्रो सल्लाह नदिने जस्ता कुराले पनि उसलाई डिप्रेसन हुनमा थप उर्जा मिलेको देखियो ।
केही अनुभूति र सुझावहरू :
– कलिलो उमेरमा वा १२ कक्षा पास गरेको छोराछोरीलाई विदेश नपठाउनु राम्रो ।
– छोराछोरी पठाए पनि कलेजसँग उसको स्वास्थ्य र उसको पढाई बारे नियमित जानकारी राख्नु पर्दछ ।
– छोराछोरीले घर आउछु भन्दा नरोक्ने, समय समयमा आउन दिनुपर्ने रहेछ ।
– आफनो समस्या र ऋणबारे उसलाई नसुनाउनु पर्दो रहेछ ।
– कन्सल्टेन्सीले सबै कुरा साँचो नभन्ने हुँदा, सबै कुरा बुझेर मात्रै पठाउनु पर्ने ।
– सबैभन्दा बावु आमा र परिवारका सदस्यले नै उनीहरूको दुःख सुखमा साथ दिनु र उनीहरूलाई हौसला र प्रेरणा दिनु पर्ने रहेछ र उनीहरूको भावना बुझनु पर्ने रहेछ ।
– अन्तर्राष्ट्रिय अनुसन्धानबाट पनि सामाजिक सन्जालबाट बालबालिकाहरूमा नकारात्मक प्रभाव परेकाले यसबाट कसरी जोगाउने भन्ने बारेमा पनि हामीले विचार पुर्याउनु पर्छ ।
जुनसुकै कारणबाट भएपनि आफूभन्दा अगाडि आफनो सन्तानको युवा उमेरमै मृत्यु हुनु जिन्दगी भरिको पोलेको घाउ हो । संसारभरका धेरै आमा बुवाहरूले यस्तो पीडा भोग्नु भएको छ । अब आखिर मृत्युलाई कसले पो रोक्न सक्छ र ? ती सन्तानहरूलाई भावपुर्ण श्रद्धाञ्जली दिँदै उनीहरूको आत्माको चिर शान्तिको लागि सामाजिक कार्यमा जुटौं र केही हदसम्म भावी पिँढीलाई यस्तो कार्य गर्नबाट जोगाउन मद्धत गरौं ।
(उप्रेती, स्वदेश फाउण्डेशन नेपालकी अध्यक्ष हुन् ।)