आकांक्षाका भारी बोकेर मनभरि

सपनाको स्वर्णिम जीवन देखेर आँखाभरि
झर्न लागेका आँशुका बुँदहरूलाई,
लुकाएर आँखाभित्रै
रसिला आँखाले मुस्कुराएर
बिदा गरी
अरबको "लाहुरे" बन्न
जोस्सिएको उस्को नवदुलाहालाई ।

जीवनको रमाइलो यात्रा
अभाव विहीन जिन्दगी
त्यसमा फुल्ने मधुरम फूलहरू
उन्मुक्तताको  बतासमा उड्ने
स्वछन्द पलहरु
उसको नवदुलाहा फर्केर आएको दिन।

कल्पनामै सीमित रहे
वर्षै पिच्छे दोहोरिएका दिनरात
उषाका - किरण का पोलाईहरु
पूर्णेकाे रात को डसाईहरु।

मनसुनकाे वर्षाले पनि
नभिजेको तन लिएर
घुम्दैछे उही नवदुलही
अस्पताल अस्पतालका ढोका ढक्ढक्याउदै,
लाग्दै नलागेको  रोग बुझाउँदै
अतृप्त रित्तो मन लिएर।

उजाडिएको आफ्नो आँगन देख्दा
झस्कन्छे
विक्षिप्त उही नवदुलही
जिन्दगीको स्वर्णिम यात्रा
अभावमै पूर्ण थियो कि?
मरूभूमिमा फूल फुलाउने यात्रा
कठोर रैछ
निर्दयी रैछ !!
                      
From
वरदानका अनुभूति

विजया श्री